हाम्रो बारेमा
मन्त्रालयको परिचय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय (यस पछि “मन्त्रालय” भनिएको) कानूनी राज्यको अवधारणा अनुरुप नेपाल कानूनको तर्जुमा, मौजुदा कानूनहरुमा समसामयिक संशोधन लगायत न्याय प्रशासनसँग सम्बन्धित कार्यहरु सम्पादन गर्ने नेपाल सरकारको केन्द्रीय निकाय हो। मन्त्रालयको स्थापना पूर्व कानूनको तर्जुमा तथा सन्धि सम्झौताको क्षेत्रमा काम गर्ने सरकारी संस्थागत संयन्त्र थिएन। सम्वत् २००७ साल अघिसम्म ऐन बनाउनु परेमा अदालतमा धेरै वर्ष काम गरी अनुभव प्राप्त धर्मशास्त्र तथा नीति शास्त्रका विद्वानहरु, धर्माधिकार, साहु महाजन, सन्त महन्त, जिमिदार, थरी, मुखिया तथा सामाजिक क्षेत्रमा नाम कमाएका व्यक्तिहरुको सिफारिसमा मात्र लालमोहर वा खड्ग निशाना लगाई ऐन बनाई जारी गरिन्थ्यो।२००७ साल पछि केही अवधिको लागि समाजमा नाम कमाएका व्यक्तिबाट कानून बनाउनुको सट्टा अरु विद्वानहरुबाट कानूनको मस्यौदा गराई मन्त्रिमण्डलको सल्लाह लिई राजाबाट लालमोहरद्वारा ऐन जारी गर्ने व्यवस्था प्रचलनमा ल्याइएको थियो । सम्वत् २००७ साल देखि २०१२ सालसम्म कानून तर्जुमा गर्ने कार्य कानून विभागले गरेको थियो। २०१३ सालमा कानून विभागको नाम “कानून मन्त्रालय” राखियो। २०१५ सालमा तत्कालीन नेपाल सरकारको कार्य विभाजन नियमावलीले कानून मन्त्रालयको नाम “कानून तथा संसदीय प्रबन्ध मन्त्रालय” राखी ऐन, नियम, आदेशहरुको तर्जुमा र जाँच गर्ने, अरु मन्त्रालयमा नपरेको विषयमा कानून बनाउने, पट्टा, कबुलियत सम्झौता समेतका सरकारी लिखतहरुको मस्यौदाको तर्जुमा गर्ने कार्यभार सुम्पियो । २०१८ सालमा संसदीय प्रबन्ध मन्त्रालय खारेज गरी “कानून तथा न्याय मन्त्रालय” नामाकरण गरियो। २०४७ सालमा कानून मन्त्रालयको नाम “कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय” राखियो। २०५२ सालमा संसदीय मन्त्रालय बेग्लै गठन भई “कानून तथा न्याय मन्त्रालय” नामाकरण गरिएकोमा २०५७ सालमा संसदीय व्यवस्था मन्त्रालयको खारेजी सँगै कानून तथा न्याय मन्त्रालयको नाम पुनः “कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय” कायम गरियो । नेपालमा संविधानसभा गठन भएको सन्दर्भमा सम्वत् २०६५ सालमा नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०६४ मा संशोधन गरी कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई “कानून, न्याय तथा संविधानसभा व्यवस्था मन्त्रालय” नामाकरण गरिएकोमा सोही नियमावलीमा २०६६ साल जेठमा गरिएको संशोधनबाट संविधानसभा तथा संसदीय व्यवस्था सम्बन्धी कार्यको लागि बेग्लै मन्त्रालयको व्यवस्था गरी पुनः यस मन्त्रालयलाई “कानून तथा न्याय मन्त्रालय” नामाकरण गरियो।पछिल्लो पटक २०६९ सालमा संविधानसभा र संसदीय मामिलाको जिम्मेवारी सहित साविकमा रहेको कानून तथा न्याय मन्त्रालयको नाम हेरफेर गरी “कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय” नामाकरण भएपछि मन्त्रालयले नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०६९ बाट निर्दिष्ट कार्यहरु सम्पादन गर्दै आएको थियो। संविधानसभाबाट नेपालको संविधान जारी भैसकेपछि नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७२/६/१४ को निर्णय अनुसार यस मन्त्रालयको नाम “कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय” राखियो । हाल यस मन्त्रालयले नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ बाट निर्दिष्ट कार्यहरु सम्पादन गर्दै आएको छ ।

लक्ष्य
कानूनको प्रभावकारी कार्यान्वयनबाट कानूनी शासनको प्रतिफल जनतामा पुर्याउने कानूनी सहायताको प्रभावकारीता अभिवृद्धि गर्ने संविधान प्रदत्त मौलिक हक र विश्वव्यापी रुपमा अवलम्बन गरिएका मानव अधिकारको प्रवर्द्धन र संरक्षण गर्ने
परिदृश्य
नेपाली जनताको इच्छा र आकांक्षा अनुकूलको कानूनी संरचना, न्याय अनुभूत गर्न सक्ने न्याय प्रबन्ध र देश विकास तथा राज्य संचालनका लागि आवश्यक कानून तर्जुमा गर्ने।
उद्देश्य
ऐन, अध्यादेश, नियम र गठन आदेश बनाउने सम्बन्धमा परामर्श दिने, मस्यौदा गर्ने, मस्यौदा जाँच गर्ने, नेपाल सरकारको लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी विवादको सम्बन्धमा आवश्यक राय परामर्श दिने, कानूनको एकीकरण तथा संहिताकरण, नेपाल कानून, अन्तर्राष्ट्रिय कानून, न्याय प्रणाली र न्याय प्रशासनको अनुसन्धान, पुनरावलोकन, सुधार तथा न्याय प्रशासन सम्बन्धी काम गर्ने।
कानून, न्याय र संसदीय मामिला मन्त्रालयका कार्यहरू
मन्त्रालयको संगठनात्मक संरचना
मन्त्रालयबाट सम्पादन हुने कामकारबाहीलाई व्यवस्थित तथा प्रभावकारी रुपमा सम्पादन गर्न मन्त्रालयमा कानून तर्जुमा महाशाखा (क) र (ख); सन्धि सम्झौता तथा अन्तर्राष्ट्रिय कानून महाशाखा; राय तथा प्रशासन महाशाखा; योजना, अनुसन्धान, अनुगमन, मानव अधिकार तथा कानूनी सहायता महाशाखा र संसदीय मामिला, फैसला कार्यान्वयन तथा पारस्परिक कानूनी सहायता महाशाखा गरी ६ वटा महाशाखा रहेका छन्। मन्त्रालयमा नेपाल न्याय सेवा कानून समूहको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पद १, राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पद ६, राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव पद 1५, राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत पद २३ र नेपाल प्रशासन सेवा, लेखा समूहको राजपत्राङ्कित तृतीय श्रेणीको लेखा अधिकृत पद 1 र सामान्य प्रशासन समूहको राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत पद १ गरी अधिकृत स्तरमा जम्मा ४७ दरबन्दी रहेको छ।त्यसैगरी, राजपत्र अनंकित विभिन्न श्रेणीको पद २९ र श्रेणीविहिन विभिन्न पद २२ गरी कूल स्थायी दरवन्दी संख्या ९८ रहेको छ।

हाम्रा समर्पित नेताहरू
हामी सबैको लागि न्याय सुनिश्चित गर्न प्रतिबद्ध छौं। हाम्रो लक्ष्य हो: सिर्जना, समीक्षा।